अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिसियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेका उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।
मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बुझिएको छ ।
इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुंगामा क्षमता भन्दा बढी यात्रु सवार रहेका थिए ।