काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार बिहान सामाजिक संजालमार्फत नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
ओलीले लोकसेवा आयोग, अख्तियारलगायतका संवैधानिक अंगमा अध्यादेशमार्फत पदाधिकारी नियुक्त गर्न लागेको भन्दै नेता नेपालले आपत्ति जनाएका हुन् । उनले सरकारलाई गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन् ।
नेता नेपालले लेखेका छन्, कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’

यसैबीच प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नी सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । संसदलाई छलेर पदाधिकारी नियुक्ति गर्न लागेको भन्दै उनीहरु बैठकमा नजाने भएका हुन् ।
यता प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा पनि बैठकमा जाने सम्भावना कम छ । किनकी यसअघिको नियुक्तिको विषयलाई लिएर परेको मुद्दा अदालतमा विचाराधीन छ । त्यसैले प्रधानन्यायाधीश बैठकमा उपस्थित हुन नमिल्ने कानुन व्यवसायीले बताएका छन् । तर ओली बल मिच्याइँ गरी परिषदको बैठक बोलाएर पदाधिकारी नियुक्तिको दाउमा छन् ।